NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ तछलागा चतुर्थी - १९

परिचय

नेपाल एक कृषि प्रधान देश हो। यहाँका ६०.४% भन्दा बढी जनताहरु कृषि पेशामा नै निर्भर छन् । राष्ट्रको कुल ग्राहस्थ उत्पादनको करिब २४.०९% श्रोत पनि कृषि रहेको छ । नेपालमा कृषिको इतिहास धेरै पुरानो भएता पनि लगातार जमिनमा खेतीपाती गर्नाले कृषि कर्ममा प्रमुख मानिने माटो जुन बालीविरुवाहरुलाई अति आवश्यक पर्ने खाद्य तत्त्वहरुको श्रोत हो, जसको आपूर्ति विभिन्न प्राङ्गारिक, जैविक तथा रासायनिक मलहरुबाट गर्ने गरेको भएता पनि माटोको व्यवस्थापनमा ध्यान नपुर्याउँदा माटोको उर्वराशक्ति विस्तारै कम हुँदै गई कृषि फसलको उत्पादन कम भएको महसुस गरी वि.स. २०४९ सालमा नेपाल सरकारले माटो इकाईको स्थापना गर्ने सोच बनायो तर त्यसको दुई बर्ष पश्चात वि.स. २०५१ सालमा आएर देशको ५ वटै विकास क्षेत्रहरुमा क्षेत्रिय माटो परीक्षण प्रयोगशालाहरुको स्थापना गर्यो । जसमध्ये क्षेत्रीय माटो परीक्षण प्रयोगशाला त्रिशुली, नुवाकोट (हाल माटो तथा मल परीक्षण प्रयोगशाला हेटौडा, मकवानपुर) पनि एक हो । स्थापना कालमा २ जना अधिकृत, ४ जना सहायकस्तर र १ जना निम्न स्तरको गरि जम्मा ७ जना कर्मचारीको दरबन्दी रहने गरी यसले माटो तथा मल परीक्षण सेवा उपलब्ध गराउन थाल्यो । वि.स. २०६१ को कृषि विभागको नयाँ संरचनामा १२ जना कर्मचारी रहने र वि.स. २०७० को कर्मचारी संरचना अनुसार १३ जना कर्मचारीको जनशक्ति रहने व्यवस्था गरी यसले यो प्रयोगशालाले काम गरिरह्यो । वि.स. २०७२ मा नयाँ संविधान जारी भई मुलुक संघीय संरचनामा गयो र यो प्रयोगशाला तत्कालीन प्रदेश नं. ३ तथा हालको बागमती प्रदेशमा रहने गरी कायम भयो । हाल यो प्रयोगशाला बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयको प्राविधिक तथा प्रशासनिक नियन्त्रणमा रहेको छ ।
यो प्रयोगशाला तत्कालीन नेपाल सरकारको निर्णय अनुसार वि.स. २०६२ सालमा त्रिशुली नुवाकोटबाट हेटौंडा मकवानपुरमा स्थानान्तर भई क्षेत्रीय बीउ बिजन प्रयोगशाला र राष्ट्रिय बीउबिजन कम्पनी मकवानपुरको कोठाहरुमा स्थापना गरी कामकाज गर्दै आइरहेकोमा आ.व. २०६४/६५ मा प्रयोगशालाको नयाँ भवन निर्माण भई आ.व. २०६६/६७ बाट आफ्नै भवनबाट कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । हाल यो प्रयोगशाला बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा औधोगिक क्षेत्र परिसर भित्र महेन्द्र राजमार्गको पूर्वपट्टि अवस्थित छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला हेटौंडाको कार्यक्षेत्र बागमती प्रदेशका १३ वटा जिल्लाहरु धादिङ, नुवाकोट, रसुवा, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर र चितवन पर्दछन् ।